Logo
Logo

लुम्बिनीका एमाले सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको पत्र


3.4k
Shares

काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न अदालतले प्रहरीलाई पत्राचार गरेको छ । जिल्ला अदालत मोरङले काठमाडौं प्रहरीलाई पत्र लेख्दै सांसद पन्थीलाई पक्राउ नगर्न भनेको हो ।

सांसद पन्थीले बुधबार नै जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेकाले अदालतले उनको पक्राउ रोक्न भनेको हो । साथै गौतमबुद्ध हाइड्रो पावर प्रालि, काठमाडौंका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न पत्रमा उल्लेख छ ।

‘वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट २०८१ वैशाख ३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा बुधबार धरौटीमा दाखिला गरिसकेको हुँदा पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्न नगराउन अनुरोध छ,’ अदालतले पठाएको पत्रमा भनिएको छ ।

पाल्पाको सिस्नेखोलामा ५० जनाको साझेदारीमा खोलिएको ‘गौतमबुद्ध हाइड्रो पावर प्रालि’ ले उधारोमा खरिद गरेको सामानको भुक्तानी नदिएको विषयमा पन्थीलगायतविरुद्ध मुद्दा परेको थियो । कम्पनीले कारोबार गर्ने क्रममा ०७३ सालमा विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको थियो । तर, ५ लाख रुपैयाँ मात्र भुक्तानी गरेको थियो ।

बाँकी रकम नदिएपछि पल्लवी कम्पनीले २०७५ चैत ११ मा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । ०७७ मंसिर २३ मा अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । त्यही मुद्दामा अदालतले १० महिनाअघि पन्थी र देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्