काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज समेत लजाउने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गभर्नर नियुक्ति प्रक्रिया, त्यसको सिफारिस समितिमा प्रत्येक १० दिनमा सदस्य हेरफेर लगायका कुराहरू देखेर यस्तो टिप्प्णी गरेका हुन् ।

उनले भने, ‘गभर्नर नियुक्ति प्रक्रिया र त्यसको सिफारिस समिति देखेर लाज पनि लजाउन थाल्यो, तर हाम्रो यो सरकार लजाउँदैन ।’ चुनाव हारेकाहरू राष्ट्रिय सभामा जाने र राजदूतसम्म बन्ने परम्परा रहेकोमा अब गभर्नर नै बनाउन खोजिएको उनले आरोप लगाए । ‘यो गलत परम्परा हो । कुनै पनि राजनीतिक दलको सदस्य गभर्नर हुन सक्दैन भनेर राष्ट्र बैंकको ऐनमै स्पष्ट छ’ उनले भने । राष्ट्र बैंक भित्रबाटै गभर्नर बनाउन सकिने उनको भनाइ छ ।
सांसद सिंहले भने, ‘राष्ट्र बैंक यत्रो वर्षदेखि चलिरहेको छ त्यहाँ कुनै विज्ञ छैन? भित्रबाट बनाउँदा पाप लाग्छ? बाहिरकै मान्छे राख्नुपर्ने? आफ्नै दलको कार्यकर्ता राख्नुपर्ने ?’ अहिलेको डेपुटी गभर्नरलाई गभर्नर बनाउन नहुने कारण नभएको पनि उनले बताए ।














