काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले ढुवानी तथा यातायात क्षेत्रलाई सहज बनाउन स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कर, बीमा र अनुमति प्रक्रियालाई डिजिटल एकद्वार प्रणालीमार्फत सरल बनाउनुपर्ने माग गरेका हुन् ।

उनले ढुवानी तथा यातायात क्षेत्रलाई राष्ट्रको गतिशीलताको मेरुदण्डको संज्ञा दिँदै यसको महत्त्वमाथि जोड दिए । उनले भने, ‘विपद् वा महामारीका बेला खाद्यान्न, औषधि र कृषि उपज देशका कुनाकुनामा पुर्याउने काम यही क्षेत्रले गरेको छ । हवाई सेवाको कमजोर अवस्था र भरपर्दो नहुनुले पनि यो क्षेत्रको महत्त्व झनै उजागर भएको छ ।’
नेम्वाङले कानुनी अस्पष्टता, नीतिगत अलमल, दोहोरो कर, जटिल अनुमति र बीमा प्रक्रिया, पूर्वाधार अभाव र इन्धनको अस्थिर मूल्यले ढुवानी क्षेत्र समस्याग्रस्त भएको बताए । उनले भने , ‘स्पष्ट ढुवानीमैत्री नीति बनाउनुपर्छ । कर, बीमा र अनुमति प्रक्रियालाई डिजिटल एकद्वार प्रणालीबाट सहज बनाउन जरुरी छ । भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्छ । यो केवल आर्थिक विषय नभई राष्ट्रको गतिशीलतासँग जोडिएको महत्त्वपूर्ण प्रश्न हो ।’














