धनकुटा । प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास र भान्साघरको बिहीबार उद्घाटन गरेका छन् । उनले भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण पनि गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई कदरपत्र, प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे । साथै, उनले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटाका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।
उनले नवनिर्मित भवनहरूले प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका साथै कार्यप्रति थप उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । नेपाल प्रहरीलाई नागरिकको आशा र भरोसाको केन्द्रको रूपमा उल्लेख गर्दै उनले नागरिकमैत्री र व्यावसायिक सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । उनले भने, ‘शिष्ट र सभ्य व्यवहारका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नुपर्छ ।’
थापाले शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणमा स्थानीय तहसँग समन्वय र सहकार्यमा जोड दिए । आत्महत्या, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, घरेलु हिंसा, महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्धका अपराध न्यूनीकरणमा सरोकारवाला निकायहरूसँग सहकार्य गर्न र विपद् व्यवस्थापनमा सक्रिय रहन निर्देशन दिए ।
नेपाल सरकारको नियमित बजेटबाट ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैयाँ ८५ पैसाको लागतमा निर्माण सम्पन्न भएका यी भवनहरूको उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।














