काठमाडौं । आइसीसी टि-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् ।

पुजा महतोले ११ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का ५ रनमा आउट भइन् । बहराइनका लागि पवित्रा शेट्टीले ३ विकेट लिइन् ।
त्यसअघि बहराइनले १२.४ ओभरमा ७६-३ को स्थितिमा रहँदा पानी परेको थियो । रासिका रोड्रीगोले २९ बलमा २४ रन जोड्दा बहराइनले राम्रो सुरुवात गरेको थियो ।
यस जितले नेपाल अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अङ्क पुगेको छ । ३ खेलमा हङकङको ४ अङ्क छ । बहराइनको ३ खेलमा १ अङ्क छ । अब अन्तिम खेलमा शुक्रवार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भएमात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।
छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।














