काठमाडौं । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन (२०८१/८२) ले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा वित्तीय अनियमितता भएको खुलासा गरेको छ । २०३८ मा स्थापित, सरकारको ८०.७३ प्रतिशत सेयर स्वामित्व भएको यो कम्पनीमा लेखामान र वित्तीय प्रतिवेदन मापदण्ड पालना नहुँदा वित्तीय व्यवस्थापन कमजोर देखिएको छ ।

२०८१ आषाढ ३१ सम्मको वित्तीय विवरणअनुसार कम्पनीको सेयर पुँजी २.७५ करोड, दीर्घकालीन ऋण २४.९३ करोड र सञ्चित नोक्सान २२.४१ करोड रहेको छ । नेपाल लेखामान पालना नगर्दा वित्तीय विवरण अविश्वसनीय बनेको छ । कम्पनीले १.५५ करोडको जडीबुटी सङ्कलन केन्द्र र उद्यानको सम्पत्ति बिक्री नहुने गरी भोग चलन गरेको छ । तर, सेयर लगानी र हिसाब मिलानमा ढिलाइ भएको छ ।
सञ्चालन नतिजा निराशाजनक छ । २०८०/८१ मा १४.११ करोड बिक्री आम्दानी हुँदा ८.९० करोड सञ्चालन नोक्सान भएको छ । उपदान र औषधि उपचारका लागि ११.४३ करोडको व्यवस्था बीमाङ्कीय मूल्याङ्कनबिना गरिएको छ । जडीबुटी मौज्दातको मूल्याङ्कन पनि लेखामान विपरीत छ ।
सन्चो बामको लोगो दर्ता नहुँदा रोयल्टी गुमेको छ । साथै, २४.९३ करोडको ऋण, १०.६९ करोड ब्याज र ८.८६ करोड आयकर भुक्तानीमा ढिलाइ भएको छ ।














