धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिए । १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरुको बैठकले भट्टलाई हटाउँदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो ।
पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन दिँदै आएका थिए ।
अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेर भट्टलाई दलको नेतामा पुनर्वहाली गराएका हुन् ।














