काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरेको छ । डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट पेश गरेका थिए । उक्त रिट सर्वोच्च प्रशासनले शुक्रबार दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताका लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको हो ।
आफ्नो नाम गभर्नरमा चर्चामा आएपछि डा पौडेलले राष्ट्र बैंकको जागीरबाट राजीनामा दिएका थिए । उनको राजीनाम स्वीकृत भएको छैन ।