काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी मुद्दाको सुनुवाइ उच्च अदालत पोखराले ‘हेर्दाहेर्दै’ मा राखेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले बिहीबारबाट सुरु भएको सुनुवाइ स्थगित गरेको हो ।

कास्की जिल्ला अदालतले गत पुस २५ मा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा तारेखमा छाड्ने आदेश दिएको थियो । जिल्ला न्यायाधीश नितिज राईको इजलासले गरेको उक्त आदेशविरुद्ध दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका छन् । लामिछानेले धरौटी रकम खारेज गरी साधारण तारेखमा छाड्न माग गरेका छन् भने जिल्ला सरकारी वकिल कार्यालय कास्की र जाहेरवालाहरूले धरौटीको आदेश खारेज गरी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् ।
बिहीबारबाट सुरु भएको सुनुवाइमा लामिछाने पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले इजलासमाथि प्रश्न उठाएका थिए । उनीहरूले थुनामा रहेका पक्षलाई मुद्दाबारे जानकारी नदिई पेशी तोकेको भन्दै सुनुवाइ स्थगित गर्न माग गरेका थिए । जाहेरवालाका कानुन व्यवसायीले भने यो दाबीको खण्डन गरेका छन् । उच्च अदालतले दुवै पक्षको निवेदनमाथि थप सुनुवाइका लागि मिति तोक्न बाँकी छ ।














