
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरबीच शुक्रवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपालको आर्थिक र सामाजिक विकासमा विश्व बैङ्कको सहकार्य र काठमाडौंमा जारी सगरमाथा संवादको महत्त्वबारे छलफल भएको हो ।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र जनजीवनस्तर उकास्न विश्व बैङ्कको सहयोगको प्रशंसा गरे । उनले राजस्व परिचालन र विकास खर्चको प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताए । साथै, उत्पादन र उत्पादकत्व वृद्धिका लागि सुरु गरिएका परियोजनाहरूलाई आगामी बजेटमार्फत समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपाध्यक्ष रायसरले विश्व बैङ्कको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउँदै नेपालले सगरमाथा संवादमार्फत वातावरणीय मुद्दालाई प्राथमिकता दिएकोमा शुभकामना दिए । विश्व बैङ्कले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा २ मिलियन अमेरिकी डलर लगानी गरेको छ ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा र विश्व बैङ्कका देशीय निर्देशक डेभिड एन सिस्लेन सहभागी थिए। नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा पहिलो सगरमाथा संवाद आयोजना गरेको छ।














