काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि शुक्रवार सर्वोच्च अदालतमा भएको सुनुवाइमा आफूले राज्यविरुद्ध कसुर नगरेको जिकिर गरेका छन् । न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा उनको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ भएको हो ।

मिश्रले इजलासमा भने, ‘मेरी ८४ वर्षीया आमाको कसम खाएर भन्छु, मैले राज्यविरुद्ध कुनै कसुर गरेको छैन ।’ गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा मिश्रसहित दुर्गा प्रसाईँ र अन्य व्यक्तिहरू प्रहरी हिरासतमा छन् । उक्त घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
मिश्रले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै अदालतमा सफाइ पेस गरेका छन् । सर्वोच्चले यो मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गरेको छ ।














