काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सगरमाथा संवाद २०२५ मा सहभागी देशहरूले जलवायु परिवर्तनको मुद्दामा नेपालप्रति प्रतिबद्धता जनाएको बताएकी छन् । शुक्रवार काठमाडौंमा सुरु भएको संवादको उद्घाटन सत्रपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सहभागीहरूले नेपालको जलवायु एजेन्डालाई समर्थन गरेको उल्लेख गरिन् ।

मन्त्री राणाले हिमाल नभएका देशहरूले समेत जलवायु परिवर्तनमा साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइन् । उनले संवादमा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको कामना गरिन् ।
उद्घाटन सत्रमा ‘जलवायु परिवर्तन, पर्वतहरू र मानव भविष्य’ विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न देशका प्रतिनिधिहरूले धारणा राखेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे बोलेका थिए । चीनका सियाओ जिए, भारतका भुपेन्द्र यादव, अजरबैजानका कोप–२९ अध्यक्ष मुख्तार बाबायेभ, जापानकी इकुइना आक्किो, भुटानका जेम छिरिङ, बंगलादेशकी शर्मिन सोनेया मुर्शिद, बेलायतकी बारोनेस सुजन हेयम्यान, किर्गिस्तानकी दिनारा केमेलोभालगायतले जलवायु मुद्दामा आफ्ना विचार व्यक्त गरे ।
संवादको पहिलो दिन ‘पर्वत भन्दा परस् पर्वतलाई समुद्रसँग जोड्दै’, हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्य, खाद्य सुरक्षा, जलवायु प्रतिरोधी कृषि र पर्वतीय समुदायको नेतृत्वमा आधारित जलवायु पहलहरूबारे छलफल भएको छ । कोप–२९ अध्यक्ष बाबायेभले हिमालसँग जोडिएको जीवनशैली र एकजुट भएर अगाडि बढ्ने आवश्यकता औँल्याए । जेठ २–४ सम्म चल्ने यो संवादले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्यलाई प्रोत्साहन गर्नेछ ।














