काठमाडौं, १३ साउन ।
बैठक स्थगित गर्ने अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयलाई चुनौती दिदै प्रधानमन्त्री निवास बालुवाटारमै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको प्रचण्डको सचिवालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
‘यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ,’ बिज्ञप्तीमा भनिएको छ,‘ आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।’

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको बताइएको छ ।
बैठकमा प्रचण्डसहित बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत सहभागी थिए । ओलीले पटक–पटक स्थगित गरेपछि प्रचण्ड र नेपाल पक्ष त्यसविरुद्ध कडा रुपमा उत्रिएका छन् ।











