Logo
Logo

रेमिट्यान्सको अवैध खेलले गभर्नर नियुक्ति ढिलाइ : शेखर कोइराला


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा ढिलाइ र चलखेल भएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगको कुराकानी उल्लेख गर्दै कोइरालाले देउवाले ‘राम्रो व्यक्ति गभर्नर नियुक्त हुने’ आश्वासन दिएको बताए । तर, उनले रेमिट्यान्सको नाममा अवैध रकम भित्रिरहेको र गभर्नर नियुक्तिमा समेत त्यस्तो चलखेलको सम्भावना रहेको आशङ्का गरे । 

“राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा कतै गडबड त भइरहेको छैन भन्ने डर छ । सभापतिले राम्रो मान्छे नियुक्त हुन्छ भन्नुभएको छ, तर यो कुराले चिन्ता बढाएको छ,” उनले भने ।

कोइरालाले देशमा जनताले सुशासन खोजे पनि कुशासन मौलाएको दाबी गरे । साथै, गभर्नर नियुक्ति प्रक्रियामा संविधानको उल्लङ्घन भएको आरोप लगाए । “नियुक्ति प्रक्रिया पारदर्शी र संवैधानिक हुनुपर्छ, तर यहाँ चलखेलको आशङ्का छ,” उनले थपे ।

यो मुद्दाले राष्ट्र बैङ्कको नेतृत्व चयनमा पारदर्शिता र स्वतन्त्रतामाथि प्रश्न उठाएको छ । कोइरालाको यो भनाइले सत्तारूढ गठबन्धनभित्र र बाहिर समेत बहस सिर्जना हुने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्