काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख, भगवतीमाई गाउँपालिका-१ घर भई काठमाडौँ, टोखा नगरपालिका९५ बस्ने ३५ वर्षीय हिक्मत कुमार थापा र बारा, आदर्श कोतवाल गाउँपालिका-९८ घर भई काठमाडौँ महानगरपालिका-२९ बस्ने ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।

प्रहरीका अनुसार, हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै एक पीडितबाट २ लाख १० हजार रुपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाउने बहानामा अर्का एक पीडितबाट ९ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले हिक्मतलाई टोखा-५ र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका-२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।














