काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन परिवर्तन गर्ने वा माओवादी केन्द्रसँग नयाँ गठबन्धन गर्ने कुनै योजना नरहेको प्रष्ट पारेको छ ।शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीसँग गठबन्धन वा सरकार परिवर्तनको सम्भावना नरहेको बताए ।

घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेताहरूसँग गरेको छलफल सामान्य भएको र गभर्नर नियुक्तिमा ढिलाइ प्राविधिक कारणले भएको जिकिर गरे । उनले नेकपा एमालेले गभर्नर नियुक्तिमा असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको र चाँडै नियुक्ति हुने बताए ।
कांग्रेस सांसद प्रकाशशरण महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेलधुराबाट सभापति देउवालाई फोन गर्नु संयोगमात्र भएको बताए । उनले प्रचण्ड र देउवाबीचको कुराकानी सामान्य रहेको र यसमा सरकार परिवर्तनको कुनै सङ्केत नभएको स्पष्ट पारे । महतले ठुला दुई पार्टीको गठबन्धनमा कांग्रेसका कुरा पर्याप्त नसुनिएको भन्दै सांसदहरूको चिन्ता रहेको उल्लेख गरे ।
बैठकमा कांग्रेस सांसदहरूले सरकारको एकतर्फी कार्यशैली र गभर्नरलगायत नियुक्तिहरूमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरूले बजेट वितरण समान र सन्तुलित हुनुपर्ने, सङ्घीय सरकारमा कांग्रेसको भूमिका प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिए ।
प्रमुख सचेतक घिमिरेका अनुसार, बैठकमा बजेट, विकास र नियुक्तिका विषयमा सांसदहरूले सक्रिय छलफल गरे । बैठकले सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै दुई वटा शोक प्रस्ताव पारित गरेको उनले जानकारी दिए ।