काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङविरुद्ध अविश्वासको प्रस्ताव सर्वसम्मत पारित भएको छ । शनिवार कपिलवस्तुको तौलिहवामा सम्पन्न विशेष साधारण सभामा उपस्थित ३८ जना साधारण सभा सदस्यले गुरुङविरुद्ध मतदान गरेका हुन् ।

सङ्घका ४१ सदस्यमध्ये ३८ जना सभामा सहभागी थिए । कोषाध्यक्ष पद रिक्त र कार्यसमिति सदस्य सुबास तिमिल्सिना विदेशमा रहेकाले तीन जना मतदानमा सहभागी भएनन्। गुरुङ स्वयं सभामा अनुपस्थित थिए ।
यसअघि ३१ जना सदस्यले हस्ताक्षर गरी गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष साधारण सभा बोलाउन माग गरेका थिए । गुरुङले आफूलाई षड्यन्त्रपूर्वक पदच्युत गर्न खोजिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सभा रोक्न निवेदन दिएका थिए । राखेपले विनियमावलीसम्बन्धी विवाद नटुंगिएसम्म सभा स्थगित गर्न निर्देशन दिएको थियो ।
यद्यपि, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान विधान र प्रदेश संघको विनियमावलीअनुसार सभा आयोजना गर्न निर्देशन दिएका थिए । तर, क्यान सचिव पारस खड्काले शुक्रवार राति पत्र लेख्दै सभा रोक्न अनुरोध गरेका थिए । तैपनि, सभा सम्पन्न भई अविश्वास प्रस्ताव पारित भएको छ ।