काठमाडौं । नेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत् सगरमाथासहितका हिमालको अवलोकन गरेका छन् । आइतबार बिहान २४ जना विदेशीसहितको टोलीले माउन्टेन फ्लाइटमार्फत् सगरमाथासहित ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङ लगायत हिमालहरूको अवलोकन गरेका हुन् ।

माउन्टेन फ्लाइटको उद्देश्य नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे विदेशी पाहुनालाई प्रत्यक्ष अवलोकन गराउनु रहेको बताइएको छ ।
सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत् हिमालहरूको अवलोकन गराइएको हो । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनी चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलो पटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।














