काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गते तीनकुने घटनाको अनुसन्धान पूरा भएको जनाएको छ । घटनामा मृत्यु भएका पत्रकार स्व। सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको बताइन् ।

खतिवडाका अनुसार, गम्भीर प्रकृतिको यो घटनामा आयोगले नियमितभन्दा तीव्र अनुसन्धान गरेको हो । अनुसन्धानको निष्कर्षसहितको प्रतिवेदन केही दिनभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । “अनुसन्धान शुक्रवार सकिएको छ, अहिले प्रतिवेदन छपाइ हुँदै छ । एक–दुई दिनमा निष्कर्ष र सुझावसहित सञ्चारकर्मीमाझ आउनेछौँ,” उनले भनिन् ।
प्रतिवेदनमा मृतकका परिवार र घाइतेका लागि राज्यले पूरा गर्नुपर्ने दायित्व र सुझाव समेटिएको छ । अनुसन्धानका लागि दुई विज्ञसहितको समिति गठन गरी गोली र छर्राको प्रकृतिबारे सूक्ष्म अध्ययन गरिएको उनले बताइन् ।
प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनाले घटना योजनाबद्ध वा आपराधिक षड्यन्त्रबाट भएको आशङ्का गर्दै न्यायोचित छानबिनको माग गरेकी छन् ।














