काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । दुवै खेलाडी विदेशमा व्यावसायिक लिग खेलिरहेकाले सिधै बैंकक पुग्ने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

“अञ्जिला र साम्बा बिहीबारपछि मात्र क्लबबाट फुकुवा हुन्छन्, त्यसैले उनीहरू नेपाल आउँदैनन्,” तामाङले भने । अञ्जिला ग्रीसको निस अट्रोमिटौबाट ‘ए’ डिभिजन र साम्बा फ्रान्सको अभान्ट ग्वेन्ग्याम्पबाट डिभिजन वान खेल्छिन् । साम्बाको क्लब यस सिजन ९ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ । उनले यो सिजन ६ गोल गरेकी थिइन् । जसमा पेरिस सेन्ट–जर्मेनविरुद्ध दुई गोल समावेश छ ।
यसैगरी, युएईको अबुधाबी कन्ट्री क्लबबाट खेल्ने रेखा पौडेल र भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीबाट डेब्युमा गोल गरेकी पूजा राना भने बन्द प्रशिक्षणका लागि नेपाल आउनेछन् ।














