काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा बदलीसँगै थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ ।

आज राति र भोलि दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा केही स्थानमा हावाहुरीको जोखिम रहेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । मौसमको यो अवस्थाले विशेष गरी तराई र पहाडी क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ।














