काठमाडौं । आइतबार नयाँ बानेश्वरको एक होटलमा नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा नेपाल कुचो सङ्घ, रुद्राक्ष व्यवसायी सङ्घ, यार्सागुम्बा सङ्घ र डेरी एसोसिएसनले आयोजना गरेको ‘कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तन’ कार्यक्रममा २० भन्दा बढी वस्तुगत सङ्घले सरकार कृषिप्रति गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

सहभागी व्यवसायीहरूले नीतिगत स्पष्टता, प्रविधि हस्तान्तरण, गुणस्तरीय उत्पादन, बीमा, ल्याब परीक्षण, बजारीकरण र सरकारी समन्वयको अभावमा कृषि उद्यममा चुनौती बढेको बताए । डेरी एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालले उद्योगीलाई जग्गा प्राप्तिमा कठिनाइ र कच्चा पदार्थको उच्च लागतले समस्या भएको गुनासो गरे ।
फ्लोरीकल्चर एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठले किट जोखिम विश्लेषणको अभावमा फूलको बिरुवा आयातमा अवरोध भएको बताए । यार्सागुम्बा सङ्घ अध्यक्ष निराजन चलाउनेले विश्व बजारमा ब्रान्डिङको कमी औँल्याए ।
बीउ व्यवसायी सङ्घ अध्यक्ष सुरेश गुरुङले रैथाने बीउ संरक्षणमा जोड दिँदै अर्गानिक मल आयातमा उच्च भन्सारको आलोचना गरे । निर्यातमुखी सङ्घहरूले अलैँची, कफी, सुपारी र छुर्पीको सम्भावना हुँदा पनि सरकारी पहल नपुगेको बताए । महासङ्घका कृषि उद्यम केन्द्र सभापति डीबी बस्नेतले सरकारसँग लबिङ गर्ने प्रतिबद्धता जनाए ।














