काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेट टोलीको प्रशंसा गर्दै उनीहरूको सङ्घर्ष र समर्पणप्रति गहिरो सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा एक भावनात्मक पोस्टमार्फत उनले महिला क्रिकेटरहरूले सामाजिक अवरोध र नकारात्मक धारणालाई चुनौती दिँदै हासिल गरेको सफलताको कदर गरेका छन् ।
‘‘क्रिकेट खेलेर के हुन्छ ? भन्ने सोच राख्ने समाजमा सबै बाधाहरू पार गर्दै महिला क्रिकेटमा समर्पित हाम्रा बहिनीहरूप्रति मेरो सम्मान र कृतज्ञता,’ खड्काले लेखेका छन् । उनले नेपाली समाजमा अझै पनि खेलकुदमा महिलाहरूको सहभागितालाई लिएर विद्यमान रूढिवादी धारणाप्रति सङ्केत गर्दै भने, ‘नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने सपना बोक्नु नै ठुलो कुरा हो। ती सपनाहरू आज पनि जीवित छन् ।’
खड्काले महिला खेलाडीहरूले सामाजिक दबाबलाई बेवास्ता गर्दै खेलकुदमा आफूलाई समर्पित गर्नु साहसिक कदम भएको बताए । उनले सामाजिक सञ्जालमा आलोचना गर्नुभन्दा खेलाडीहरूलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । ‘सामाजिक सञ्जालमा गाली गर्न सजिलो छ, तर मैदानमा दौडिनु र प्रदर्शन गर्नु त्यति सजिलो छैन,’ उनले थपे ।
नेपाली महिला क्रिकेट टोलीले आज यूएईलाई पराजित गर्दै महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको सन्दर्भमा खड्काले यो सफलतालाई ऐतिहासिक भनेका छन् । ‘यो जित कुनै संयोग होइन । यो त हाम्रा खेलाडीहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै तय भएको भविष्य हो,’ उनले लेखेका छन् ।
अन्त्यमा, खड्काले टोलीलाई आगामी यात्राका लागि शुभकामना दिँदै अडिग भएर अघि बढ्न प्रेरित गरेका छन्। यो जितले नेपाली महिला क्रिकेटको उज्ज्वल भविष्यको सङ्केत गरेको उनको भनाइ छ ।











