काठमाडौं । कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका(७ स्थित सडकमा डिएसपीले चलाएको गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए भने विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कार आउँदै थियो ।
उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । दुर्घटनमा सांसदहरू सामान्य घाइते छन्।
सांसद मैया श्रेष्ठले एक जना सांसदलाई अलि बढी चोट लागेको र अरू सामान्य रहेको बताइन् । आफू निवासमा पुगेर आराम गरिरहेको उनको भनाइ छ।











