बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ ।

नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै सम्पूर्ण प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने दीर्घकालीन लक्ष्य राखिएको छ । रासायनिक मल र विषादीको प्रयोग घटाउन प्राङ्गारिक मलको उत्पादन र वनजंगलमा झरेका पातपतिङ्गर तथा स्याउला सङ्कलन गरी कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने योजना अघि सारिएको छ ।
विदेशबाट फर्केका युवालाई बाँझो जमिनमा व्यावसायिक कृषिमा जोड्न ‘मेरो मातृभूमि, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै, जलवायु अनुकूलन कृषि, रैथाने पशुपन्छी पालन र रैथाने खाद्यान्न बालीको संरक्षण तथा प्रवर्द्धनलाई पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । प्रदेश सरकारले यी कार्यक्रममार्फत लुम्बिनीलाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य राखेको छ ।
पूर्णपाठ :