काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दिनबन्धु बरालको इजलासले सो आदेश जारी गरेको हो ।

अदालतका अनुसार विष्ट धरौटी रकम बुझाएर रिहा हुने प्रक्रियामा छन् । विष्टमाथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोप छ । उनले लेखेको उक्त पत्रमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गर्न भनिएको थियो । विष्ट स्वयं उक्त पत्र लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
सोही पत्रको आधारमा प्रहरीले रेशमलाई पक्राउ गरी कारागार पुर्याएको थियो । तर, पत्र आधिकारिक नभएको खुलासा भएपछि रेशम रिहा भएका थिए । त्यसपछि विष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।














