Logo
Logo

देश बन्दैन भन्ने भाष्य गलत साबित गर्न काम गर्नुपर्छ : गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत साबित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

आज यहाँ बिपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेख्नुभएको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उहाँले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताए ।  

महामन्त्री थापाले भने ,“युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुनसक्छ । त्यसैले अब सानातिना कुरामा अल्झिनुभन्दा पनि यो अफ्ठ्यारोबाट निकास दिन हामीले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीलाई भाग्ने सुविधा छैन, निकास दिनुको विकल्प अन्य कुनै बहाना हुनसक्दैन ।”

उनले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गरे ।  “नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको ? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ । राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ”, महामन्त्री थापाले  भने । 

उनले बिपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिए । “साहित्य जगत्मा बिपीबारे धेरै लेखिएका छन् तर उहाँको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो । पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ”, थापाले भने । 

लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले बिपी कोइरालालाई चिन्ने बताए । “मैले साहित्यकार, राजनीतिज्ञलगायत विविध रूपमा परिचित बिपी कोइरालाको जीवनीबाट प्रेरित भएर उपन्यास लेखेको छु । आज यहाँ पाएको सुझाव र प्रशंसाले मलाई हौसला मिलेको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्