Logo
Logo

कूलपुजामा सेनाको दुरुपयोग


7.4k
Shares

काठमाडौं । स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा स्थापित प्रतिष्ठानको आवरणमा थापाहरूको कूलपूजा शनिबार सम्पन्न गरिएको छ । एकसातादेखि धनकुटाको पाख्रिवास मुगामा आयोजना गरिएको उक्त कुलपूजामा प्रतिष्ठानको लाखौं रकम दुरुपयोग गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनिलबहादुर थापा १ हप्ता अघि नै कुलपूजाका नाममा मुगा पुगेका थिए । मुगामा कुलपूजा आयोजनास्थलमा पण्डाल लगाउनेदेखि साजसजावट गर्ने कार्यमा पदीय दुरुपयोग गरेर नेपाली सेनालाई परिचालन गरेका थिए ।

निकै तामझामका साथ आयोजना गरिएको उक्त कुलपूजामा सहभागीहरुलाई प्रतिष्ठानको नाम अंकित टीसर्ट लगाउन बाध्य पारिएको थियो । कुलपूजास्थलमा प्रतिष्ठानको बजेट दुरुपयोग गर्दै ड्रोनसमेत उडाइएको थियो ।

उक्त कुलपूजामा सहभागी हुन सरकारी रकमको दुरुपयोग गर्दै ऊर्जा तथा सिंचाई दीपक खड्कासमेत सहभागी भएका थिए । खड्काका ससुराली मुगाकै थापा खलक हुन् । प्रतिष्ठानका नाममा वर्षेनि करोडौं रकम दुरुपयोग गर्दैआएको आरोप थापामाथि छ । उनको पुख्र्यौली थलो मुगामा भग्नाबशेष रहेको घर निर्माण गर्नेदेखि लिएर आफ्नो निजी जग्गा जमिन संरक्षणमा प्रतिष्ठानकै रकम दुरुपयोग गरिएको छ ।

गत वर्ष प्रतिष्ठानको बजेटबाट १८ लाख रुपैयाँ लागतमा खानेपानीका लागि बोरिङ खनिएको थियो । तर उक्त बोरिङको खर्च ५० लाख देखाएर भुक्तानी दिइएको थियो । ५० हजारको र्इंंटा झारेर लाखौंको बिल पेश गरिएको प्रतिष्ठानका नाममा भुक्तानी दिइएको थियो ।

विवादरहित हुनुपर्ने गरिमामय पदमा रहेका राष्ट्रपतिका सल्लाहकार थापाले सत्ताको चरम दुरुपयोग गरिरहेका यी केही दृष्टान्त हुन् । पटक पटक सरकारी साधन स्रोत र पदको दुरुपयोग गरी जिल्लामा जाने र कांग्रेसका कार्यकर्ता भेटघाटदेखि कार्यक्रममा सहभागी हुँदै आएको कुराप्रति राष्ट्रपति स्वयं जानकार छन् । तर उनले थापाको यस्ता क्रियाकलाप रोक्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्