Logo
Logo

जनतामा अझै क्रान्ति गर्ने जोस छ : प्रचण्ड


567
Shares

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् । छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनयुद्धमा जाजरकोटले पुर्याएको योगदानको प्रशंसा गरे । 

जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ छ । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए । 

अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने उनको भनाइ छ । “हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ”, उनले भने “अब फेरी हामीलाई तपाईँहरूले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।” मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए । 

जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारसम्म राख्ने उनले प्रतिबद्धता गरे । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिए । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्