
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेट भएको हो ।
प्रधानमन्त्री ओली र देउवाबीच हिजै भेट गर्ने तय भएको थियो । तर, ओली अस्वस्थ भएपछि भेट आजका लागि सारिएको थियो । आज पनि उनी अस्वस्थ छन् । तर, बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।
ओली र देउवाबीचको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि उनीहरुबीच राष्ट्र बैँकको गभर्नरबारे छलफल भइरहेको स्रोत बताउँछ । गभर्नरमा देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ । तर गभर्नर कसलाई बनाउने भन्ने विषयमा टुंगो नलाग्दा सिफारिस समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । महाप्रसाद अधिकारी अवकाशमा गएपछि गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ ।











