Logo
Logo

सुमना श्रेष्ठको सरकारलाई प्रश्न-मिटर ब्याज पीडितलाई न्याय कहिले ?


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटर ब्याज कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन् । मङ्गलवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटर ब्याज पीडितको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरिन् ।

The current image has no alternative text. The file name is: sumana-shreshtha.jpg

उनले गौरीबहादुर कार्कीको सुझाव र तेजबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको कार्यविधि कार्यान्वयन गरेमा ८० प्रतिशत पीडितको समस्या समाधान हुने बताइन् । “कार्यविधि स्वीकृत र कार्यान्वयन गर्ने हो भने अधिकांश समस्या हल हुन्छ, तर त्यसका लागि दोषीलाई कारबाही गर्नुपर्छ,” उनले भनिन् । “पीडितलाई बारम्बार आन्दोलन गर्न बाध्य बनाइएको छ । आयोगमाथि आयोग थपेर पीडितको समस्या झन् जटिल बनाइँदै छ । राज्यको नीति के हो ? ”

सांसद श्रेष्ठले सोमबार भएको छलफलमा आयोगका अध्यक्षले पीडितको मागअनुसार काम गर्न नसकिने अभिव्यक्ति दिएको उल्लेख गर्दै यसअघिको आयोगलाई असहयोग गरिएको र अहिले कामचलाउ प्रतिवेदन तयार गर्न अर्को आयोग गठनको तयारी भइरहेको बताइन् ।

सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले मिटर ब्याज पीडितमाथि राजनीति नगर्न र साहु–महाजनको संरक्षण गर्न छाडेर पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्