पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली नेतृत्वको वर्तमान सरकार ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन् । मङ्गलवार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार ढलेमा नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

“सरकार ढल्यो भने पहिलो पार्टीले नेतृत्व दाबी गर्नुपर्छ,” पुनले भने, “कांग्रेसलाई एमाले र माओवादीबिना पनि बहुमत पुग्छ । यदि बहुमत पुगेन भने हामी विकल्प सोच्छौँ ।” उनले पहिलो पार्टीले सरकार नचलाए जनताबाट नयाँ जनादेश लिनुपर्ने सुझाव दिए ।
पुनले सरकार माओवादीका कारण नभई गभर्नर नियुक्ति प्रकरण र बिचौलियाको प्रभावका कारण ढल्ने अवस्थामा पुगेको जिकिर गरे । “गभर्नर नियुक्ति रिक्त भएको दुई महिना बितिसक्दा पनि टुङ्गो लागेको छैन । चर्चामा रहेका व्यक्ति पनि बिचौलियाले रुचाएका होइनन्,” उनले भने ।
उनले कांग्रेस र एमालेबीच माओवादीसँग संवाद भएको हल्लामा सत्यता नभएको स्पष्ट पार्दै सरकार बिचौलियाको प्रभावमा सञ्चालित भएको आरोप लगाए ।