काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्क मङ्गलवार ५३ अङ्क अर्थात् २.०१ प्रतिशतले उकालो लागेको छ । आज बजार उकालो लागेसँगै २,६८१.३६ को विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्तका चर्चाका बिचमा बजारमा भारी अङ्कको सुधार देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्ने गरी सहमति जुटेको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि सिफारिस समितिको बैठक पनि आज नै बस्दै छ । गत चैत ११ मा गठन भएको र दुईपटक पुनर्गठन गरिएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्य पोषराज पाण्डे छन् । समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्येबाट मन्त्रिपरिषद्को आज साँझ बस्ने बैठकले एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।
आज बजारमा कुल ७.३१ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमा १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३,०५४ वटा कारोबारमा किनबेच भएका छन् । कुल ३१० स्क्रिप्स कारोबारमा आएका हुन् ।
आज सिन्धुपाल्चोक हाइड्रोपावर १० प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैङ्क १० प्रतिशतले बढेको छ । कारोबार रकममा सबैभन्दा धेरै राधी हाइड्रोपावर सेयर ४१.७९ करोड बराबरको कारोबार भएको छ ।