काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्ने सहमति भएको छ । सोमबार र मङ्गलवार दुई चरणको वार्तापछि देउवाको प्रस्तावमा ओली पौडेललाई गभर्नर बनाउन सहमत भएका हुन् ।

लामो रस्साकस्सीपछि डेढ महिनादेखि रिक्त गभर्नर पदमा पौडेल नियुक्त हुने भएका छन् । गभर्नर नियुक्तिमा भागबण्डालाई लिएर ओलीको असहमतिका कारण कांग्रेस रुष्ट भएको थियो । सोमबारको वार्तामा ओलीले आफ्नो प्रस्ताव अघि सारेपछि देउवा असन्तुष्ट बनेका थिए । तर, मङ्गलवारको छलफलले पौडेलको नाममा सहमति जुट्यो ।
प्रधानमन्त्री ओलीले मङ्गलवार साँझ ५:३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यता, उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको सिफारिस समितिको बैठकले पनि मङ्गलवार दिउँसो पौडेलसहित तीन जनाको नाम गभर्नरका लागि सिफारिस गर्ने तयारी गरेको छ ।
पौडेल २०७९ को निर्वाचनमा चितवन-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद ढकालसँग पराजित भएका थिए । यसअघि २०७८ साउनमा देउवाले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका थिए भने त्यसअघि पनि कांग्रेसकै समर्थनमा आयोग सदस्य बनेका थिए ।