हेटौँडा । मकवानपुरको त्रिभुवन राजपथ सडकखण्डमा मङ्गलवार दिउँसो विन्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका-९, छैसठ्ठी मोडमा चित्लाङबाट सर्लाही जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको भ्यान सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त भ्यान सल्लाको रूखमा अड्किएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ । प्रारम्भिक अनुसन्धानले भ्यानको ब्रेक फेल भएकाले दुर्घटना भएको देखिएको प्रहरीले बताएको छ ।
उद्धार कार्यमा जिल्ला ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, भैंसे र सिमभञ्ज्याङ प्रहरी चौकीबाट २५ जना प्रहरी परिचालित भएका थिए ।