दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले १५ जेठदेखि गर्ने भनिएको आन्दोलनलाई नेपाली जनताविरुद्धको कदम भएको टिप्पणी गरेका छन् । मङ्गलवार दाङमा आयोजित ४१औँ नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई सम्बोधन गर्दै उनले राजावादी आन्दोलन कुनै दल वा व्यवस्थाविरुद्ध नभई जनताविरुद्ध भएको दाबी गरे ।

“गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर राजावादीले आन्दोलन घोषणा गरेका छन्, यो जनताविरुद्धको कदम हो,” पोखरेलले भने, “हामीले यो कुरा जनतालाई बुझाउनुपर्छ ।” उनले राजसंस्थाले इतिहासमा जनतालाई शोषण गरेको र गणतन्त्रविरुद्ध प्रहार गरिरहेको बताए ।
साथै, उनले युवाहरूलाई विदेश पलायन रोकेर स्वदेशमै मेहनत गर्न आग्रह गरे । “विदेशमा पसिना बगाएर देश बन्दैन, स्वदेशमै मेहनत जरुरी छ,” उनले भने । रहरले विदेश जाने प्रवृत्ति बढ्दो रहेको उनको भनाइ छ ।














