
काठमाडौं । चितवनको एक रिसोर्टको स्विमिङ पुलमा युवकको मृत्यु भएको छ । मंगलबार साँझ इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार महतो आफ्ना साथीहरूसँग खाजा खान उक्त रिसोर्ट पुगेका थिए । खाजा खाइसकेपछि स्विमिङ पूलमा नुहाउन गएका उनी लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला परेका थिए ।
उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका महतोका साथीहरुमा सुमन थापा, प्रविण घिमिरे, आदेश सुबेदी, आशिष शर्मा, मेघलाल चुंडाल, दिपेश महत्तो, शुबु खत्री र नारायण बस्नेत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














