
काठमाडौं । जापानका कृषिमन्त्री ताकु एतोले पदबाट राजीनामा दिएका छन् । यसै साता समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।
पछिल्लो एक वर्षयता जापानमा चामलको मूल्य दोब्बरले बढेको छ । नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो । एतोले दिएको सार्वजनिक अभिव्यक्तिको मतदाता र सांसदहरूले तीव्र आलोचना गरेका थिए ।
आफ्नो अभिव्यक्ति अनुपयुक्त भएको महसुस गर्दै उनले राजीनामा दिएको पत्रकारहरूसँग बताएका छन् । ‘चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भएका बेला मैले अनुपयुक्त अभिव्यक्ति दिएको छु,’ उनले भनेका छन् ।











