काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई भोलि बिहीबार उपस्थित हुनेगरी छाडिएको छ । बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई नियन्त्रणमा लिएको थियो । उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा छाडिएको स्रोतको बतायो ।

त्रिवी अध्यागमन कार्यालयका प्रमुख भट्टराईको साथबाट बरामद भएको फोन भने प्राविधिक परीक्षणका लागि भन्दै अख्तियारले नियन्त्रणमा लिएको छ । मानव तस्करी तथा सेवाग्राहीसँग घुस लिएको उजुरी परेपछि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेलगत्तै भट्टराईलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिलाई दुवई लगायतका देशमा पठाउने काममा संलग्न रहेको पाएपछि अख्तियारले उनलाई पक्राउ गरेको थियो । फर्जी कागजातका आधारमा पठाउने कार्यमा उनको पनि संलग्नता रहेको अख्तियार स्रोतको दावी छ ।














