पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको १०औँ अधिवेशन भोलि शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दैछन् ।
संगठनका महासचिव सुमन पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका । बिहीबारदेखि नै प्रतिनिधिहरू पोखरामा आउनेक्रम सुरू भइसकेको उनको भनाइ छ । महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुने युवा संघले जनाएको छ ।

साथै, विभिन्न पार्टीका युवा संघ संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि प्रतिनिधि बनाउने तयारी गरिएको छ । सोअनुसार प्रतिनिधिको संख्या १ हजार ८ सय ३४ जनासम्म पुग्न सक्ने उनले बताए । युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
पर्वतबाहेक अधिकांश जिल्लामा प्रतिनिधि टुंगो लागिसकेको र प्रदेशले त्यसलाई अन्तिम रूप दिँदै केन्द्रका पठाउने काम भइरहेको संगठनका उपाध्यक्ष कृष्णहरि केसीले जानकारी दिए ।
संगठन आगामी नेतृत्वका लागि युवा नेताहरु चर्को प्रतिस्पर्धामा देखिएका छन् । नयाँ समितिका लागि अध्यक्षमा संगठनका वर्तमान अध्यक्ष क्षितिज थेवे, महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङको नाम चर्मामा छ ।
त्यस्तै, महासचिवमा कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेललगायतको नाम चर्चामा छ । संगठनको परिवर्तित नीतिअनुसार दुईजना उपाध्यक्ष हुनेछन् । तीमध्ये एकजना महिला अनिवार्य गरिएको छ ।
महिला उपाध्यक्षमा शारदा पछाईं, निशा लिम्बू, रेशु तामाङ र अनुपमा राई आकांक्षा छन् । खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको नाम चर्चामा छ । पर्वतमा जिल्ला अधिवेशन हुन सकेको छैन । जिल्ला कमिटीको विस्तारित बैठकमा विवाद उत्पन्न भएपछि त्यहाँ प्रतिनिधि छनोट पनि प्रभावित बनेको थियो ।
त्यस्तै केन्द्रीय अनुशासन, निर्वाचन, लेखा र विज्ञ युवा परिषद्लगायत आयोगबाट पनि प्रतिनिधित्व टुंगो लाग्न बाँकी छ । आयोगका सदस्यहरू पनि स्वतः महाधिवेशनको आयोजक हुनेछन् । तर ती निकायमा केही सदस्यहरूले शपथग्रहण नै गर्न बाँकी छ ।
यसअघि अधिवेशन भएका १० वटा जनसंगठनमा कतैपनि निर्वाचन भएन । सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले युवा संघमा पनि सहमतिबाटै नेतृत्व चयन गर्न खोजेका छन् ।
अध्यक्ष ओलीले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, युवा संघका वर्तमान र पूर्वअध्यक्ष तथा नेतृत्व तहमा रहेकाहरूलाई बालुवाटार बोलाएर छलफलमा सहमतिबाटै नेतृत्व टुंग्याउन र मिलेर अधिवेशन सम्पन्न गर्न भनेको संगठनका सचिव बलराम बेलबासेले बताए ।
उनले अध्यक्षले ओलीले एकले अर्कालाई स्वीकार्ने परिस्थिति बनाउन र सौहार्दपूर्वक अधिवेशन सक्न भनेको बताए । एमालेका २३ जनसंगठनमध्ये युवा संघ र अनेरास्ववियुले पार्टीभित्र विशेष प्रभाव राख्छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युवा संघका संस्थापक अध्यक्ष पनि हुन् । २०४७ सालमा उनकै नेतृत्वमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) गठन भएको थियो । त्यसैले ओलीले युवा संघको अधिवेशनमा बढी चासो राख्ने गरेका छन् ।














