
काठमाडौं । तस्करीका सामानसहित प्रहरीले ६ भारतीय नागरिकसहित आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका सामानसहित २ नेपाली र ६ भारतीयलाई चमती एरियाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको गौरीगंज गाउँपालिका–१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा रहेका छन् । त्यस्तै भारतीय नागरिकहरु ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दीपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, ३१ वर्षीय मोहमद रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन् ।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले उनीहरुले मोबाइल र मोबाइलका पार्टपूर्जा भन्सार छलेर ल्याई चमतीमा भण्डारण गर्ने र बेच्ने गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।