काठमाडौं । सार्वजनिक लेखा समितिले पतञ्जलि जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले पतञ्जलि जग्गा प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जलि प्रकरणमा प्राप्त उजुरीमाथि मन्त्रालय र विभिन्न निकायसँग सोधपुछ गरी तयार पारिएको प्रतिवेदन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको बताए ।
“हामीले सातवटा उपसमिति गठन गरी समितिमा प्राप्त उजुरीहरूलाई प्राथमिकताका आधारमा समयमै सम्पन्न गर्ने तयारी गरेका थियौँ,” पोखरेलले भने, “तर, समय अपुग भएकोले एक महिनाभित्र काम सक्ने गरी समय थपिएको छ। पतञ्जलि जग्गा प्रकरणमा मन्त्रालय र अन्य निकायसँग छानबिन गरी अन्तिम प्रतिवेदन तयार भएको छ। यो प्रतिवेदन थप अनुसन्धान र कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय भएको छ ।”














