काठमाडौं । काठमाडौंको दिगो पर्यटन सहकारी संस्थामा ठगी गरेको मुद्दामा फरार रहेका एमाले नेता कृष्णकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनी एमालेको गैरभौगोलिक अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । उद्योग व्यवसाय विशेष जिल्लाबाट उनले उक्त कमिटीमा प्रतिनिधित्व गरेका हुन् । प्रहरीले काठमाडौँ जिल्ला अदालतको आदेश कार्यान्वयन गर्न अर्याललाई पक्राउ गरेको जानकारी दिएको छ। उनको घर ललितपुर महानगरपालिका–३ सानेपामा छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार बिगो भराउन आदेश दिएको थियो। तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अर्याललाई अदालत बुझाउने तयारी भएरहेको प्रहरीले जानकारी दिएको छ। हाल उनी पार्टीको पेसागत विशेष प्रदेश कमिटी सदस्य हुन् ।














