Logo
Logo

आर्थिक अपराध अनुसन्धान अब सीआइबीबाट, सम्पत्ति शुद्धीकरण विभागबाट हटाइँदै प्रहरी


3.8k
Shares

काठमाडौं । आर्थिक अपराध अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मातहतमा ल्याइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्रहरीलाई फिर्ता बोलाएर आर्थिक अपराध अनुसन्धानको जिम्मा सीआईबीको मातहतमा छुट्टै एकाई बनाइएको हो ।

आर्थिक अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानलाई थप प्रभावकारी बनाउन सीआईबीमा छुट्टै महाशाखा गठन गरिएको हो । यो इकाईको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले गर्नेछन्।

नेपाललाई ग्रे लिस्टबाट हटाउन विभिन्न जिम्मेवारी पाएको प्रहरीले आर्थिक अपराधसम्बन्धी घटनाको अनुसन्धानका लागि छुट्टै इकाई स्थापना गरेको छ । यो इकाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मातहत रहनेछ।

प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै ब्युरो स्थापना गर्ने प्रस्ताव गरेपनि जनशक्ति, बजेट र भौतिक संरचनाको अभावले तत्काल सम्भव नभएपछि सीआइबीअन्तर्गत छुट्टै इकाई गठन गरिएको हो ।

यो इकाईको कमान्ड एसएसपी होविन्द्र बोगटीलाई दिइएको छ। इकाईमा ६० प्रहरी रहनेछन्, तर हाललाई १९ प्रहरी खटाइएका छन् । यसमा एक एसपी, चार इन्स्पेक्टरसहितको टोली छ, र चार डीएसपी थप्ने तयारी छ।
यसअघि सीआइबीमा आर्थिक अपराध हेर्न ‘२ नम्बर पिलर’ स्थापना गरिएको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको विवरण प्रहरीले प्रत्येक महिना गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्नेछ। गत चैतमा विष्णु पौडेलको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्रहरीलाई यी जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्