काठमाडौं । कञ्चनपुर, मझगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे कार्य सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी असारसम्म धावनमार्गको पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीमार्फत काम अघि बढाएको हो । प्राधिकरणका अनुसार हालसम्म विमानस्थलको ६१ प्रतिशत भौतिक प्रगति भएको छ । असारसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।

मझगाउँ विमानस्थलको धावनमार्गको कुल लम्बाइ १,५२५ मिटर रहेको छ । तर, हाल १,३०० मिटरमा मात्र कालोपत्रे कार्य भइरहेको छ । बाँकी २२५ मिटर जमिन नेपाली सेनाको मातहतमा रहेकाले प्राधिकरणले प्राप्त गर्न नसकेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले उक्त जमिन हस्तान्तरण नगर्दा निर्माण कार्य प्रभावित भएको छ।
विमानस्थल निर्माणका लागि सङ्घीय सरकारको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र स्थानीय सरकारको योगदान रहने गरी सम्झौता भएको छ । तर, हाल प्राधिकरणसँग सङ्घीय सरकारले उपलब्ध गराएको बजेटमात्र छ । २०७८ मा कान्छाराम÷केएस÷उमा एण्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य भए पनि प्रगति ढिलो भएकाले गत माघ १० मा एक वर्षको म्याद थप गरिएको छ ।
विमानस्थलको टर्मिनल भवनलगायत अन्य संरचनाको निर्माण पनि तीनै तहको सरकारको संयुक्त लगानीमा हुने भएको छ । विस्तृत आयोजना प्रतिवेदन ९डिपीआर० तयार भइसकेको छ, तर बजेट अभावले ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन । बजेट सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढ्ने छ । मझगाउँ विमानस्थलको निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको हवाई सम्पर्क विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।











