Logo
Logo

आफ्नै प्रहरीलाई झुटा मुद्दा हाल्ने आईजिपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।
प्रहरी महानिरीक्षकलाई सम्पूर्ण प्रहरी कर्मचारीको अभिभावक मानिन्छ । तर, नेपाल प्रहरीका कर्मचारीले केही वर्षयता अभिभावकविहिनको अवस्था अनुभव गर्न थालेका छन् ।

प्रहरी नेतृत्वले आफ्नै प्रहरीविरुद्ध एकपछि अर्काे झुटा मुद्दा दायर गरेपछि यस्तो अवस्था आएको हो । पूर्व आईजिपी सर्वेन्द्र खनालको कार्यकालमा शंकाकै भरमा प्रहरीविरुद्ध तीन वटा मुद्दा प्रहरीविरुद्ध दायर भएका छन् । जसले संगठनमा मनोबल गिराएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीविरुद्धको पहिलो गलत मुद्दा सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा भयो । सो घटनामा तस्कर समूहसँग साँठगाँठ भएका प्रहरीलाई मुद्दा चलाउनु स्वभाविक नै थियो । तर, सो घटनाको अनुसन्धानमा लापरबाही भएकै आशंकामा समेत एसएसपीसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भयो । महानगरीय अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेश लोहनीसहितका प्रहरीलाई आशंकाकै भरमा मुद्दा दायर भयो । जून गलत भएको भन्दै त्यतीबेला नै पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी रमेश खरेल लगायतले पत्रकार सम्मेलन गरेका थिए ।
अनुसन्धानमा लापरबाही गरेको खण्डमा छानबिन गरेर विभागीय कारबाही गर्ने सिष्टम छ । तर, छानबिन नै नगरी उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो । पछि उनीहरु साधरण तारेखमा छुटेपछि हाल जागिरमा जोडिएका छन् ।
त्यस्तै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको भनेर हचुवाकै भरमा ८ जना निर्दाेष प्रहरीलाई अभियुक्त बनाइयो । यो काम पनि सर्वेन्द्र खनालकै नेतृत्वमा भयो । प्रहरी नेतृत्वले आफ्नो कुर्सी जोगाउन फसाईका आठै प्रहरीले बिहीबार कञ्चनपुर जिल्ला अदालतबाछ सफाई पाएका छन् ।

प्रमाण नष्ट गरेकोमा सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

उनीहरुमध्ये एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी अर्काे मुद्दासमेत चलाइएकोमा दुवै मुद्दामा न्यायधी गोपाल प्रसाद वास्तोलाको इजलाशले दुवै मुद्दामा प्रमाण नपुगेको भन्दै सफाई दिने निर्णय गरेको हो । सो मुद्दामा प्रमाण नष्ट नभएको र आरोपी दिलिपसिंह बिष्टलाई यातना दिएको प्रष्ट प्रमाण नभएकाले सफाईको फैसला भएको अदालतका श्रेस्तेदार यदुराज शर्माले बताए । त्यतीबेला भिडकै दबाबको भरमा प्रहरी नेतृत्वले यस्तो मुद्दा दायर गरेको थियो । जून अभियोग नपुग्ने अदालतले ठहर गरेपछि मुद्दा चलाउने तत्कालिन प्रहरी नेतृत्वमाथि कारबाहीको माग सामाजिक सञ्जालमा उठेको छ । डिएसपी अंगुर जिसीले तत्कालिन प्रहरी नेतृत्वको असक्षमताले आफूहरुविरुद्ध मुद्दा दायर भएको सार्वजनिक रुपमै बताइसकेका छन् ।
त्यस्तै खनालकै नेतृत्वमा डिएसपी कुमोध ढुंगेलमाथि डकैती समूहलाई सहयोग गरिएको झुटो मुद्दा दायर भयो । डकैतीमा संलग्न एक व्यक्तिसँग भेट गरेका आधारमा त्यस्तो मुद्दा दायर भएको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतले उनलाई पनि साधरण तारेखमा छाड्न आदेश दिइसकेको छ ।
यी तीनै घटनाले प्रहरीको बदनाम त भयो नै त्यो भन्दा धेरै प्रहरीमा अनुसन्धान अधिकृतहरुलाई हतोत्साहित बनाएको छ । कुनै पनि काम गर्दा गल्ती हुन सक्छ, अन्जाबश कुनै गल्ती भएमा पनि जागिर नै जान्छ भन्ने डरले प्रहरी अधिकारीहरु अनुसन्धानबाट भाग्ने गरेका छन् । खराब प्रहरी नेतृत्वका कारण प्रहरी संगठनले ठूलो मूल्य चुकाउनुप¥यो । प्रहरीको गिरेको त्यो मनोबल उकास्न हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धेरै काम गर्नुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्