काठमाडौं । हनी ट्रयापको प्रयोग गरी पैसा असुल्ने र ब्ल्याकमेल गरेको आरोपमा नेपाल प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल श्रेष्ठ (चौगुठी) छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क जोडेका थिए । त्यसपछि पीडितलाई काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा र मादक पदार्थ खुवाएका थिए । पीडित अचेत भएपछि उनीहरूले अश्लील फोटो र भिडियो खिचेका थिए । प्रहरीका अनुसार तामाङ र चौगुठीले ती फोटो र भिडियोको स्क्रिनसट मेसेन्जरमार्फत पीडितलाई पठाई ‘काठमाडौंमा घर र ४ आना जग्गा दिनुपर्छ, नत्र यौन शोषणको मुद्दा लगाइदिन्छौँ’ भन्दै धम्काएका थिए । उनीहरूले पीडितलाई ५ लाख रुपैयाँको चेक काट्नसमेत बाध्य पारेका थिए ।
प्रहरीले बुधवार काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट दुई थान मोबाइल र आँचल चौगुठीको नाममा काटिएको प्राइम कमर्सियल बैङ्कको ५ लाखको चेक बरामद गरिएको छ ।
प्रहरीका अनुसार उनीहरूमाथि आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए । यो घटनाले सामाजिक सञ्जालमार्फत हुने अपराधप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याएको छ ।