काठमाडौं । जापानका पूर्वकृषिमन्त्री टाकु इटोले आफूलाई समर्थकहरूले सधैँ चामल कोसेली दिने र कहिल्यै किन्नु नपरेको भन्दै गरेको टिप्पणीले विवाद निम्त्याएपछि उनले पदबाट राजीनामा दिएका छन् । यो अभिव्यक्तिलाई लिएर विपक्षी पार्टीले अविश्वास प्रस्ताव ल्याउने चेतावनी दिएपछि इटोले माफी माग्दै राजीनामा गरेका हुन् । उनको बहिर्गमनले अल्पमतमा रहेको प्रधानमन्त्री सिगेरु इशिबाको सरकारमाथि थप दबाब परेको छ ।

जापानमा चामलको मूल्य गत वर्ष दोब्बरले बढेको छ, जसले गर्दा सर्वसाधारणको जीवनयापनमा असर परेको छ । चामल जापानी संस्कृतिको अभिन्न हिस्सा हो र यसको अभावले विगतमा पनि राजनीतिक अस्थिरता निम्त्याएको इतिहास छ । सन् १९१८ मा चामलको मूल्यवृद्धिका कारण हिंसात्मक प्रदर्शनले सरकार नै ढालेको थियो । हालको मूल्यवृद्धिले पनि इशिबा सरकारको लोकप्रियता घट्दो छ ।
कृषि मन्त्रालयका अनुसार, माग र आपूर्तिको तालमेल नमिल्दा समस्या भएको हो । सन् २०२३ / २०२४ मा माग ६८ लाख टन अनुमान गरिए पनि वास्तविक माग ७० लाख टन पुग्यो । पर्यटकको सङ्ख्या बढ्नु र बाहिर खाना खाने प्रवृत्ति बढ्नुले माग बढाएको छ । तर, असामान्य गर्मीले उत्पादन र गुणस्तर दुवै घटेको छ ।
सरकारले चामलको सञ्चित भण्डार बिक्री गरे पनि मूल्य नियन्त्रण भएन । जापानले २५ वर्षपछि दक्षिण कोरियाबाट चामल आयात सुरु गरेको छ, तर स्थानीय उपभोक्ताहरू आयातित चामलप्रति सकारात्मक छैनन् । कृषकहरूले पनि सरकारी अनुदान कटौती र बजार मूल्यको अनिश्चितताले धान खेतीमा चुनौती भोगिरहेका छन् । आगामी बर्खामा हुने राष्ट्रिय निर्वाचनमा चामलको मुद्दा संवेदनशील बन्न सक्ने देखिन्छ ।











