
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अगाडि बढाएका छन् । बोर्डमा अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञजको मात्रै एजेन्डा राखेर पटक पटक बैठक बसिसकेका छन् ।
अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्कालै अघि बढाउन चाहेका छन् । यद्यपि, बोर्डका अधिकांश सदस्यहरूले अहिले नै यो प्रक्रिया अगाडि बढाउन नहुने बताएका छन् ।
अध्यक्ष श्रेष्ठले चिन्तामणी सिवाकोटीले तयार गरेको नयाँ स्टक सम्बन्धी प्रतिवेदन अध्ययन गर्न गठन गरिएको समितिको रिपोर्टसमेत बैठकमा पेस गरिसकेका छन् । तीन कर्मचारीले तयार गरेको प्रतिवेदनमा नयाँ स्टकको लाइसेन्स वितरण गर्नुपर्ने राय लेखेका छन् ।
बोर्ड सदस्यहरुमध्ये अधिकांश सदस्य नयाँ लाइसेन्स दिने नहुने पक्षमा छन् । बोर्ड सदस्यहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नै सुधार गरि अघि जान सुझाव दिएका छन् । नयाँ स्टकको विषयमा पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुझाव आयोगले समेत नेप्सेलाई नै पुनःसंरचना गरी अघि बढाउन सुझाव दिएको छ । तर अध्यक्ष श्रेष्ठ भने नयाँ स्टकको लाइसेन्स वितरण आफ्नो मुख्य एजेन्डा भएको भन्दै छिटो भन्दा छिटो प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई अध्यक्ष बनाउनेको खास कारण पनि नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउनु हो । यसअघि रमेश हमाललाई पनि सोही उद्देश्य प्राप्तिका लागि बोर्ड पठाएका ओलीले हमालले काम नगरेपछि श्रेष्ठलाई यसको जिम्मा दिएका हुन् ।
नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डबाट गठित कार्यदलले कार्ययोजना तयार गरेको छ । कार्यदलले तयार गरेको कार्ययोजना बोर्ड सञ्चालक समितिमा बुझाइसकेको छ ।
नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटी नेतृत्वको अध्ययन समितिले दिएको सिफारिस अनुसार नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णयपछि धितोपत्र बोर्डले अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने गरी प्रतिवेदन तयार पारेको हो ।
कार्ययोजनाकै आधारमा बोर्ड सञ्चालक समिति बैठकले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने निर्णय गर्ने छ । त्यसपछि मात्रै यसअघि आवेदन दिएका तीनमध्ये एउटा कम्पनीलाई लाइसेन्स दिने गरी मूल्यांकनको कार्य अघि बढाइने भएको छ ।
यस प्रक्रियामा हिमालयन स्टक एक्स्चेन्ज, अन्नपूर्ण स्टक एक्स्चेन्ज र नेसनल स्टक एक्सचेन्जले नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन् । विभिन्न राजनीतिक दलनजिक रहेका व्यापारिक घरानाहरू नयाँ स्टक एक्सचेन्ज हत्याउने दाउमा रहेका बेला सरकारले पनि त्यसलाई प्रतिष्पर्धाको सामान्य मापदण्ड राखेर अनुमोदन गर्न लागेको विश्लेषण भइरहेको छ ।
हिमालयन स्टक एक्सचेञ्जमा शंकरलाल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योति समूहका सौरभ ज्योति, रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको लगानी छ ।
यसैगरी, नेशनल स्टक एक्सचेञ्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ । बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता छन् । साथै सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको यसमा मुख्य लगानी रहेको छ ।
त्यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जका लगानीकर्ताहरूमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन् ।
बिचौलिया व्यापारी समूहले करोडौँ खर्च गरेर श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाएकाले उनीहरूलाई सहज हुने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइने जानकारहरू बताउँछन् । धितोपत्र बोर्ड स्रोत पनि अहिले यसबारे तयारी तीव्र भइरहेको बताउँछ । यी तीन कम्पनीमध्ये दिपक भट्टलाई नयाँ स्टक एक्सचेन्जको अनुमति दिने तयारी भएको समेत स्रोत बताउँछ ।
सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन बिचौलिया दीपक भट्टले ओली र अर्थमन्त्री विष्णु पौडेललाई मनाएका थिए । अहिले उनलाई नै सहज हुने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिलाएर गुन तिर्ने दाउमा श्रेष्ठ छन् ।