काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन राज्य पक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मानिसको ज्यान गएको उल्लेख गर्दै विश्वका अन्य द्वन्द्वको तुलनामा नेपालमा कम क्षति भएको जिकिर गरे । तर, उनको यो अभिव्यक्तिले द्वन्द्वपीडितहरूको आक्रोश निम्त्याएको छ, जसका कारण उनलाई कार्यक्रम बीचमै छाडेर बाहिरिनुपरेको छ ।
भट्टराईले आफ्नो सम्बोधनमा सशस्त्र द्वन्द्वका समयमा दुईथरी सेना—राज्यको सेना र तत्कालीन माओवादीको क्रान्तिकारी सेना—बीचको सङ्घर्षले १७ हजारको ज्यान गएको बताए । उनले भने, “विश्वका अन्य द्वन्द्वमा लाखौँको ज्यान गएको छ, तर नेपालमा १७ हजारको मात्रै मृत्यु भयो । यो तुलनात्मक रूपमा कम हो ।” उनले तत्कालीन समयमा त्रिपक्षीय राजनीतिक सङ्घर्ष (निरङ्कुश राजतन्त्र, राज्य पक्ष र माओवादी) भएको र राजतन्त्रको अन्त्य भइसकेकाले अब शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बाँकी दुई पक्षले समान दायित्व लिनुपर्ने तर्क गरे ।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगजस्ता संयन्त्रको प्रभावकारितामा जोड दिँदै यी प्रक्रियालाई चाँडो टुङ्ग्याउनुपर्ने बताए ।